काठमाडौँ । सरकारले मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्ने भएको छ ।
शुक्रवार सिंहदरबारमा मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन् ।
जेठ ३ गते बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्मा पेश गरेको नेपाल सरकारका मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्ने निर्णय भएको हो । त्यसैगरी सरकारले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा. डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगीता खड्कालाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ । उहाँ यसअघि पनि सो पदमा हुनुहुन्थ्यो ।
स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई पठाउने प्रस्ताव पनि मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा फौजदारी कसुर कैद कट्टा तेस्रो संशोधन नियमावली, २०८१ स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।