काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७ जेठमा विश्वासको मत लिने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार संघीय संसद् सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएकाले कार्यसूचीमा राखिदिन अनुरोध गरेको हो ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री कार्यालयबाट विश्वासको मत प्रयोजनका लागि पत्र आएको जानकारी दिए । प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव गर्नेछन् । बहुमतका लागि एक सय ३८ सांसदको समर्थन चाहिन्छ ।
सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले ३१ वैशाखमा सरकारबाट समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रधानमन्त्री प्रचण्डलाई एमाले ७९, माओवादी केन्द्र ३२, रास्वपा २१, एकीकृत समाजवादी १०, जसपा ७, नागरिक उन्मुक्ति ४, आजपा एक र दुई स्वतन्त्र (अमरेशकुमार सिंह र योगेन्द्र मण्डल) सांसदको समर्थन छ ।