उमाकान्त खनाल
२०६२/६३ को जनआन्दोलन अर्थात तत्कालीन राजसंस्थाविरोधी आन्दोलन। व्यवस्था परिवर्तनका लागि भनेर दलहरूले छेडेको त्यो आन्दोलनको मनसाय देशबाट राजतन्त्र हटाएर नारायणहिटीको अधिकार जनतामा केन्द्रित गराउनु थियो।
जनताद्वारा शासित गणतान्त्रिक मुलुक नेपाल बनाउन भन्दै दलहरू लाखौँ जनतालाई सडकमा ओराल्दै आन्दोलन चर्काइरहेका थिए।
नेपालका हरेक राजनीतिक परिवर्तनमा सञ्चार माध्यमको ठूलो भूमिका रहने गरेको छ। चाहे त्यो २०३६ सालमा मिसन पत्रकारितामार्फत होस् या २०६२/६३ सालको जनआन्दोलन । हरेक व्यवस्था परिवर्तनका लागि गरिका भनिएका आन्दोलनमा भूमिका खेल्दै आएको सञ्चार जगतलाई ६३ को आन्दोलनले पनि मज्जैले छोएको थियो।
त्यसबेलाको राजतन्त्रले संञ्चारमाध्यममा लगाएको अंकुश र सेन्सरसिपबाट आजित भएका सञ्चारमाध्यमले पनि आन्दोलनलाई नैतिक समर्थन जनाएका थिए सिवायराज्य सञ्चालित नेपाल टेलिभिजन गोरखापत्र अनि रेडियो नेपाल।
सरकारले नै चलाएको सञ्चारमाध्यम भएर सरकारविरोधी आन्दोलनको समाचार प्रकाशन गर्न सरकारी मिडियालाई छुट थिएन। अर्को भाषामा भन्ने हो भने त्यतिबेलाका सरकारी सञ्चार माध्यम त्यो आन्दोलनका विरोधी जस्तै देखिन्थे। तर पनि नेपाल टेलिभिजनमा त्यो आन्दोलनको दृश्य प्रशारण भयो ।
आन्दोलन सुरु भएको तेस्रो चौथो दिनमा त विशालजुलुस र जनप्रदर्शनका दृष्यनै देखिन थाल्यो। राजाको शासनमा एउटा सरकारी टिभिले कसरी राजाविरोधी आन्दोलनको फुटेज बजायो ? यसको कारण निकै रोचक छ।
सरकारी टेलिभिजन भएका कारण आन्दोलनकारीको निशानामा परिने डर एकातिर थियो भने आन्दोलनकारीसँग जोगिँदै भिडियो खिचेर ल्याए पनि त्यही भिडियोका आधारमा सरकारविरोधी ट्याग. लगाउँदै कारबाही गर्ने र जागिर नै जानसक्ने भयले आन्दोलनको कभरेजका लागि त्यहाँका कर्मचारी फिल्डमा जानै सकेनन्।
सरकारीनै भए पनि भएको घट्ना देखाउनै पर्छ बरु सानो सभा र जुलुस देखाउने तर केही न केही देखाउनै पर्छ भन्ने मत टेलिभिजनमा बाक्लिन थाल्यो। र यो कामका लागि टेलिभिजन बाहिरका क्यामराम्यानलाई प्रयोग गर्ने निष्कर्षमा टेलिभिजन पुग्यो।
नेपाल टेलिभजनको संग्रहमा सुरक्षित काफ्लेले खिचेका जनआन्दोलन२०६२/६३ का ती दुर्लभ दृष्य अहिले पनि त्यसबेलाका हरेक प्रसंगमा प्रयोग हुने गरेका छन् ।
त्यसका लागि तत्कालीन अध्यक्ष बाँस्कोटाले आफूसँग चलचित्र पत्रकारितामार्फत चिनजान भएका राजन काफ्लेलाई रोजे। काफ्लेलाई काठमाडौँको फुटेज कभरेजको जिम्मा दिइयो भने भक्तपुरतर्फको फुटेज कभरेजको जिम्मा पाए दिलिप थापा मगरले।
काफ्लेका अनुसार तत्कालिन समयमा टेलिभिजनको सामाग्री प्रयोग गरेर फिल्डमा जाने स्थिति थिएन। टेलिभिजनका क्यामेरा धेरै ठूला, पहेँलो प्लेटको संस्थानको गाडी र सरकारी कर्मचारीलाई सिंहदरबारको गेटबाटै अवरोध सिर्जना हुन थाल्यो। आन्दोलनका सुरुका केही दिन गेट भित्रैबाट स साना फुटेज खिचेर प्रशारण गरे पनि आन्दोलन चर्किँदै जाँदा त्यसो गर्न सम्भव भएन। त्यसैले पनि त्यस कामका लागि उनीहरुलाई प्रयोग गरियो।
नेपाल टेलिभिजन जस्तो सरकारी सञ्चारमाध्यम सडकमा निस्केर काम गर्न नसक्ने अवस्था आएपछि आन्दोलनको भिडियो कभरेजको जिम्मेवारी काफ्लेमा आइपरेको थियो। राजसंस्थाविरुद्धको आन्दोलन र सोही राजसंस्थाको गुनगान गाउनु पर्ने त्यसबेलाको नेपाल टेलिभिजन एक अर्काको विरोधी जस्ता देखिन्थे।

टेलिभजनबाट पनि त्यस्तै निर्देशन थियो,’सकेसम्म सानो जुलुस र भीड देखिने फुटेज खिचेर ल्याउनू।’ तर काफ्लेले त्यसो गरेनन्। जे देखे त्यही खिचेर ल्याए। आज सम्झन्छन्, ‘मेरो मनले त्यसो गर्न दिएन। मेरो आँखाले जे देख्यो क्मामेरालाई त्यो नदेखाउने काम मैले गर्न सकिन। फिल्डमा जे देखिएको थियो त्यही खिचेर ल्याएँ, नेपाल टेलिभिजन त्यही देखाउन बाध्य भयो।’ त्यो क्षण सम्झँदै काफ्ले अगाडि भन्छन्, ‘सायदत्यसबेला जानी नजानी मैले पत्रकारिताको धर्म निर्वाह गरेँ।’
सात दलको आन्दोलन भन्ने गरिएको त्यसबेलाको आन्दोलनमा दलका नेता कार्यकर्तामात्र नभएर स्वस्फूर्त रुपमा कलाकार, नागरिक समाजका अगुवा तथा सामाजिक अभियन्तासमेत सडकमा निस्केका थिए। त्यसबेलाको आन्दोलनलाई समर्थन गर्न घरघरबाट थाल ठटाएर साथ दिइन्थ्यो। चोङ्कचोकमा आन्दोलनकारीलाई पानी खुवाउने व्यवस्था स्थानीयहरूले स्वस्फूर्त गरेका थिए।
आन्दोलनले उग्र रुप लिँदै थियो। एक दिन भक्तपुरबाट ठूलो संख्यामा नागरिकहरु बाटामा भएका रुख विरुवा काट्दै हरियो पात र रुखका हाँगाविँगा बोकेरै काठमाडौँ आएका थिए। माइतीघरबाट पुतलीसडक जाने गरिआएको त्यो टोली त्यसतर्फ जान नसकेपछि त्रिपुरेश्वरतिर आए। त्रिपुरेश्वरपुगेको त्यो ठूलो समूह त्यहाँ भएको त्रिभुवनको सालिक नै तोडफोडमा लागेपछि प्रहरी आक्रामक बनेर उनीहरुलाई लखेट्न थाल्यो।
‘आन्दोलन सफल पार्न आफ्नो तर्फबाट जे गर्न सक्थेँ मैले पनि गरेँ। राजाविरोधी आन्दोलन सफल भयो। त्यसको मतलब सायद व्यवस्थाविरोधी त्यो आन्दोलनमा म पनि सफल भएँ। राजनीतिमा खासै चासो नभएको भए पनि राजनीतिक चेत सायद त्यसैबेलाबाट अलिक बढी खुल्यो।’
राजन काफ्ले
‘प्रहरी र प्रदर्शनकारीबीच दोहोरो हानथाप हुँदै गर्दा स्थिति यस्तो बन्यो कि प्रहरीले गोली चलाउनु पर्ने स्थिति बन्यो,’ त्यो बेलाको घट्ना सम्झँदै काफ्ले अगाडि थप्छन्, ‘तर परिस्थिति यति बिग्रियो कि प्रहरीले खुट्टा मुनी हानेको गोली कसैको छातिमा कसैको पिठ्युँमा लाग्यो। जसले गर्दा कति त्यहीँ ढले।’ राजाकै टिभीको प्रतिनिधि भएर यी सबै दृश्य कैद गरिरहेका काफ्ले झनै संकटमा परे।
नेपाल टेलिभिजन भन्ने थाहा पाउनसाथ प्रदर्शनकारीको निसानामा पर्ने भयले काफ्लेले प्रदर्शनकारीसँगै नारा लगाउँदै भिडियो खिच्नुपर्ने स्थिति बन्यो। तर उनका लागि यसो गरेर मात्र त्यहाँ दृश्य खिच्न सहज भएन र थिएन पनि। प्रहरीले मिडियामाथि झनै कडाइ गरिरहेको थियो। यस्तोमा सरकारी टेलिभिजन भनेर प्रहरीलाई जानकारी दिएर दृश्य खिचिरहेका काफ्लेलाई प्रदर्शनकारीसँगै प्रहरीले देखेको भए?’
अहिले पनि त्यो क्षण सम्झँदा काफ्ले झसङ्ग हुन्छन्। अझै झसङ्ग त त्यतिबेला हुन्छ जतिबेला आँखैअघि आएको गोली आफूलाई नलागेर क्यामेरा हुँदै छेउमा रहेको पोलमा गएर ठोक्किएको सम्झन्छन्।
‘आन्दोलन उग्र हुँदै गर्दा प्रहरीले गोली चलाउन थाल्यो, म लुकेर भिडियोखिचिरहेको थिएँ। त्यतिनै बेला प्रहरीले चलाएको गोली मेरै अगाडिबाट क्यामेरामा लागेर छेउको पोलमा गएर बज्रियो। एकछिन त म केही सोच्नै नसक्ने भएको थिएँ। धन्न क्यामेराले बचायो।’
त्यतिबेला गोली लागेको भए काफ्लेको जिम्मा लिने कुनै सञ्चार माध्यम हुने थिएन। किन भने काफ्लेले नेपाल टेलिभिजनका लागि काम गरेको कतै खुलाइएको थिएन। आज पनि काफ्लेलाई यो कुराले नराम्रो चिमोट्छ। ‘केही भइ हालेको भए त……’
त्यस्ता सबै दृष्य खिचेर ल्याएको र नेपाल टेलिभिजन तीनै दृष्यलाई बजाउन बाध्य भएको सम्झँदा त्यस बखतका लागि ठूलै उपलब्धि भएको ठान्छन् काफ्ले।

आन्दोलनले एक साता पार गर्दा नयाँ वर्ष २०६३ लागिसकेको थियो। त्यसबेलासम्ममा नेपाल टेलिभिजनमा समेत सरकार पक्षधर (राजसंस्था पक्षधर) र आन्दोलन पक्षधर गरि टेलिभजननै दुई पक्षमा विभाजित देखिन थालिसकेको थियो। काफ्लेले संकलन गरेका केही महत्वपूर्ण फुटेज त्यसबेलाका राजसंस्था पक्षधरको निसानामा परे।
‘काठमाडौँ केन्द्रित आन्दोलनमा नेपाल टेलिभजनका लागि मैले १३ दिन काम गरेँ,’ त्यसबेलाको क्षणलाई स्मृतिबाट केलाउँदै काफ्ले सुनाउँछन्, ‘तर करिब ४ दिनको फुटेज टेलिभिजनबाटै गायब भयो। कहाँ कसरी के भयो भनेर धरै खोजियो। तर फेला पर्न सकेन। त्यसपछि केही गडबड छ भन्ने लाग्यो र मैले नयाँ कपी बनाएर मात्र दृष्य प्रशारण विभागलाई दिन थालेँ। त्यतिबेला आन्दोलनका फुटेज डिलिट गरिदिने गायब पारिदिने जस्ता काम सायद राजसंस्था पक्षधर कर्मचारीबाटै भएको होलाझैँ लाग्छ। तर मैले खासै चासो दिइन। र त्यसपछिका फुटेज भने मैले आफूसँग पनि सुरक्षित राख्न थालेँ।’
आन्दोलन अन्त्यतिर आइपुग्दा राजसंस्था पक्षधरहरु टेलिभिजन जान नसक्ने अवस्थामा पुगे। यतिमात्र होइन आन्दोलनको फुटेज खिच्न राजावादीबाटै खटाइएका काफ्लेको पारिश्रमिक र चलचित्र निर्माता गोपाल कर्मचार्यसँग दैनिक भाडा तिर्ने गरि ल्याएको क्यामेराको शुल्कसमेत निकास हुने अवस्था रहेन।
त्यसबेलाको दिन सम्झँदै काफ्ले अगाडि भन्छन्, ‘आन्दोलन सफल पार्न आफ्नो तर्फबाट जे गर्न सक्थेँ मैले पनि गरेँ। राजाविरोधी आन्दोलन सफल भयो। त्यसको मतलब सायद व्यवस्थाविरोधी त्यो आन्दोलनमा म पनि सफल भएँ। राजनीतिमा खासै चासो नभएको भए पनि राजनीतिक चेत सायद त्यसैबेलाबाट अलिक बढी खुल्यो।’
नेपाल टेलिभजनको संग्रहमा सुरक्षित काफ्लेले खिचेका जनआन्दोलन २०६२-६३ का ती दुर्लभ दृष्य अहिले पनि त्यसबेलाका हरेक प्रसंगमा प्रयोग हुने गरेका छन् ।