काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा मकवानपुरको हेटौँडामा आज हुँदैछ ।
आज हुने विशेष साधारण सभाको मुख्य एजेन्डा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्ती रहेको बताइएको छ ।
नेम्वाङको वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै नेम्वाङसहित महासचिव किरण राईलाई एन्फाका बहुमत सदस्यले गत भदौमा बर्खास्तीको माग गर्दै निवेदन पेश गरेका थिए ।
उनीहरुले वर्तमान नेतृत्वप्रति १९ बुँदे आरोपसहित निष्कासनको माग गरेका हुन् ।
तर अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्तावको सामना गर्ने निर्णयसहित विशेष साधारण सभामा उक्त एजेन्डा लगेका हुन् ।
विधान अनुसार महासचिवको नियुक्ति र बर्खास्तीको अधिकार कार्यसमितिलाई दिइएको भन्दै अध्यक्ष नेम्वाङले आफ्नो मात्र एजेन्डा समावेश गरेका हुन् ।
नेम्वाङको बर्खास्तीको विषयमा आजै विशेष साधारण सभाले मतदान गर्नेछ । एन्फाको कूल १०७ सदस्य (जिल्ला, क्लब, संघ) मध्ये विशेष साधारण सभामा ८७ जनालाई मात्र मताधिकार हुनेछ ।
एन्फा विधान अनुसार अध्यक्षको बर्खास्तीका लागि दुई तिहाई अर्थात कम्तिमा ५८ मत आवश्यक पर्नेछ ।