झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिश्चरे शाखाले २३ औँ साधारणसभाका लागि प्रारम्भिक सदस्य भेला सम्पन्न गरेको छ ।
बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस सहकारीले मंसिर १२ गते हुन लागेको इकाइगत साधारणसभाका लागि प्रतिनिधि छनोटका साथै शाखामा भएका गतिबिधिका बिषयमा सेयर सदस्यहरुलाई जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको कार्णाली बचत तथा ऋण सहकारी संस्थाका ऋण उप-समिति सदस्य तथा कार्यक्रमका अध्यक्ष गोबिन्दविक्रम गिरीले बताए ।
कर्णाली बचत तथा ऋण सहकारीले झापा मोरङ र इलाममा गरी ४१ वटा सेवाकेन्द्रबाट सेवा प्रवाह गरिरहेको छ ।
२०५७ साल पुष ०४ गतेबाट संचालनमा आएको उक्त सहकारीले ५३ हजार ७ सय ८१ जना सदस्य बनाइसकेको छ भने शनिश्चरे शाखाले अहिले १५ सय सदस्यहरुलाई समेटेको छ ।

सहकारी संचालकको लापरबाही र सेयर सदस्यहरुको निगरानी नभएका कारण देशका कयौँ सहकारीहरु घाटामा गएको अवस्थामा पनि कर्णाली बचत तथा ऋण सहकारीले राम्रो कार्यसम्पादन गरिरहेको संचालकहरुको भनाइ छ ।
अफ्ठ्यारोमा परेका बेला सहकारीको नियमानुसार कर्जा झिकेर चलाउन पाउँदा राहत महशुश भएको शेयर सदस्यहरूको प्रतिक्रिया छ । नाफा रकममा गिरावट देखिए पनि संस्थाको कुल पुँजी तथा दायित्व बडेर ४ अर्ब ३० करोड १० लाख ५० हजार १९ रुपैँया १० पैसा रहेको वासलात प्रतिवेदनमा रहेको छ ।
गत अर्थिक बर्ष २०७८/०७९ मा ३ अर्ब ९७ करोड ११ लाख ७६ हजार ६ सय २६ रुपैँया ३९ पैसा रहेको संस्थाको पुँजी बढेर आ.व २०७९/०८० मा ४ अर्ब ३० करोड १० लाख ५० हजार १९ रुपैँया १० पैसा पुगेको हो ।
उक्त प्रतिवेदन माइन्युट प्रमाणीकरणका दिन पेश गर्ने व्यवस्था अनुरुप मंसिर १२ गते हुने कार्यक्रममा पेश हुने बताइएको छ ।
अर्जुनधारा जलेश्वरधामको सभाहलमा भएको शनिश्चरे शाखाको प्रारम्भिक सदस्य भेलामा सेवा केन्द्रकी जेष्ठ शेयर सदस्य इन्दिराकुमारी बुढाथोकीलाई दोसला ओडाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा करिब १ सय ५० भन्दा बढी शेयर सदस्यहरुको उपस्थिति रहको थियो ।
अतिथिहरु संचालक समितिका सदस्यहरु गणेशप्रसाद पराजुली, गुन्जन थापा साथै नायब कार्यकारी प्रमुख चिदान्द सुबेदीको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन संस्थाका कर्मचारी चुडामणी भट्टराईले गरेका थिए ।