काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागु पूर्णिमा (होली) को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले एक शुभकामना सन्देश जारी गर्दै पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।
‘नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा होलीमा खेलिने रङहरू जस्तै विविधतापूर्ण छ, यो विविधता हाम्रो पहिचान र शक्ति दुवै हो’, शुभकामना सन्देशमा भनिएको छ, ‘तसर्थ, फागु पूर्णिमा जस्ता पर्वहरूले सम्पूर्ण नेपालीको बीचमा आपसी प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वास मैले लिएको छु ।’
असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसीयालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिस राग परित्याग गरी प्रेम भाव र आत्मीयताका साथ आफन्तजन एवं साथी सङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा रहेको छ ।