काठमाडौँ ।
उपराष्ट्रपति नन्दबहादुर पुन ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रवार चीनको साताव्यापी भ्रमणमा सिचुवान प्रान्तको छिन्दुतर्फ प्रस्थान गरेका छन ।
युनान प्रान्तको राजधानी कुन्मिङमा यही जेठ ३० देखि असार ३ गतेसम्म आयोजना हुने चौथो चीन–दक्षिण एसिया मेला र चौबीसौँ चीन कुन्मिङ आयात–निर्यात व्यापार मेलामा भाग लिन पुन त्यसतर्फ प्रस्थान गरेका हुन्।
विमानस्थलमा उपराष्ट्रपतिलाई उपप्रधानमन्त्री चित्रबहादुर केसी, मन्त्रीगण, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, मुख्यसचिव, प्रधानसेनापति, नेपाल सरकारका सचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले बिदाई गरेका थिए । यसअघि नेपाली सेनाको एक टुकडीले उपराष्ट्रपतिलाई सम्मान अर्पण गरेको थियो ।
भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली, उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, उपराष्ट्रपतिको स्वकीय सचिव सुकबहादुर रोका, उपराष्ट्रपतिको प्रेस संयोजक घर्ती, उपराष्ट्रपतिका पाश्र्ववर्ती प्रमुख सेनानी मनोजकुमार सिलवाललगायत ११ जना छन् ।
यसैगरी भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका नायब शिष्टाचार महापाल सुरेन्द्र थापा र शाखा अधिकृत जनक सिंह, प्रधानमन्त्री कार्यालयका उपसचिव अञ्जानकुमार मिश्र, उपराष्ट्रपति कार्यालयका खरिदार सृष्टि शाक्य र भाषा अनुवादक डा. हरिशचन्द्र शाह छन् । उपराष्ट्रपतिमा निर्वाचित भएपछि पुनको यो पहिलो विदेश भ्रमण हुन लागेको हो । उपराष्ट्रपति चीनको साताव्यापी भ्रमण सकेर आगामी असार २ गते स्वदेश फर्कनेछन् ।