काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रपतिमा एमालेका उम्मेद्वारलाई रोक्न कांग्रेसले राष्ट्रिय सहमतिको बहस चलाएको आरोप लगाएका छन् ।
एमाले ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले सरकारलाई समर्थन गरेर कांग्रेसले बिभिन्न पदका लागि ढडिया थापेको भन्दै अहिले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई रोक्न कांग्रेसले राष्ट्रिय सहमतिको बहस चलाएको आरोप लगाए ।
उनले कांग्रेसकै कारण राष्ट्रपति निर्वाचनमा एमालेलाई माओवादीले भोट हाल्छ कि हाल्दैन भन्ने आशंका पैदा भएको पनि बताए ।
गुरुङले दक्षिणपन्थी गठबन्धनलाई तोडेर बामपन्थी गठबन्धन बनाउन एमाले सफल भएको भन्दै यसलाई लामो समय कायम राखेर प्राप्त उपलव्धीलाई संस्थागत गर्नुपर्ने धारणा राखे । दलीय हिसावमा वर्तमान सरकारमा एमालेले ११ मन्त्रालय पाउनुपर्ने भएपनि गठबन्धनलाई जोगाउनका लागि एमाले उदार भएको उनले बताए ।