काठमाडौं। सुदूरपश्चिम प्रदेससभाको बैठक फेरि सरेको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेलाई सारिएको हो।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक दिउँसो ४ बजेका लागि सारिएको प्रदेससभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए। यसअघि बुधबार बोलाइएको प्रदेससभा बैठक स्थगित भएर बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको थियो।
मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने प्रयोजनका लागि बिहीबार प्रदेससभाको बैठक बोलाइएको हो।
मुख्यमन्त्री रावलका पक्षमा प्रदेससभाको बहुमत जुटेको छैन। रावलको पक्षमा बहुमत जुट्न नसक्दा प्रदेससभा बैठक सार्न लगाइएको हो। बहुमतका लागि निर्णायक मानिएको ७ प्रदेस सांसद रहेको दल नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताइसकेको छ।
पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता रावललाई बिहीबार विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ। उनले विश्वासको मत लिन नसकेमा स्वतः पदमुक्त हुनेछन्।